भाले मर्दा गाउँले मलामी कपाल फाले

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

दाङ्को तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्।मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्।

१९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार भयो मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्‍याएका थिए।

‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो,’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हो।’

भाले मरेपछि आफूलाई निकै दुःख लागेकाले भालेको सम्मानका लागि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको उनले बताए।

‘दाहसंस्कार गर्ने समयमा ममात्रै होइन, गाउँका अरू दुई-तीन जना मानिसहरूको पनि आँशु खसेको थियो,’ सुवेदीले भने।

अचेल चिनजानका मानिसहरूले मान्छे मरेको घरमा परम्परागत रूपमा चल्दै आएको ‘मानो मिसाउने’ कार्यक्रम छ कि छैन? भनेर सुवेदीलाई सोध्दै आएका छन्।

‘धेरैले मलाई आजसम्म पनि गाली गर्नुहुन्छ। भाले मरेको खबर पाएको भए हामी पनि मलामी जान्थ्यौं। किन थाहा नदिएको भनेर रिसाउनु हुन्छ,’ सुवेदीले भने, ‘सम्भावित कोरोना जोखिमका कारण धेरैलाई खबर नगरिएको भनेर मैले जवाफ दिने गरेको छु। कतिपयले आज पनि फोन गरी मानो मिसाउने कार्यक्रम छ कि छैन भनेर सोध्नु हुन्छ। मैले छैन भन्दै आएको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *