रसुवाकाे बाढीमा सोलुखुम्बुकाे एकै परिवारका ३ जना र २ आफन्त सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । रसुवाकाे गएको विनाशकारी बाढीमा सोलुखुम्बुकाे एकै परिवारका ३ जना र २ आफन्त सम्पर्कविहीन भएका छन् । रसुवाका गएको विनाशकारी बाढीका कारण उनीहरू सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएका व्यक्तिको परिवारका सदस्य रन्जिता बुढाथोकी मगरका अनुसार, उनका तीन जना दाजु सम्पर्कविहीन छन् भने अर्का दुई जना आफन्त पनि सम्पर्कविहीन छन् ।

तीन जना दाजु र एक जना आफन्त भारतीय पर्यटक लिएर तिब्बतको कैशाल हिमाल यात्रामा गएका थिए । एक जना आफन्त भने चाइना जान लागेको र भिसा लिने प्रक्रियामा थिए ।

उनको अन्तिम लोकेशन टिमुरे देखिएको छ । अन्य चार जनाको अन्तिम लोकेशन भने बोर्डर एरियामा छ । चार जना भदौ १ गते कैलाश हिमाल यात्रामा काठमाडौंबाट निस्केका हुन् । रन्जिताका अनुसार, भदौ १० गते बिहान ८ बजेतिर फोन लागेको थियो, तर कुरा हुन पाएको थिएन ।

‘बाढी आएको थाहा पाएपछि निरन्तर फोन गर्दा पनि उठेको थिएन । ११ बजेतिरबाट मोबाइल स्वीच अफ भयो,’ उनले भनिन् । धेरै दिन सम्म पनि आफन्तको अवस्था थाहा हुन नसकेको भन्दै उनले ‘सम्पर्कविहीन व्यक्तिको अवस्था के छ राज्यले भनिदेओस्’ भनेर आग्रह गरेकी छन् ।

रन्जिताका अनुसार चाइना साइटबाट सम्पर्कविहीन व्यक्तिहरूको सूची आएको छ । चाइना साइटबाट आएको मिसिङ लिस्टमा तीन जना दाजुको र एक जना आफन्तको नाम छ । अर्को एक जना आफन्तको नाम छैन’ उनले भनिन् ।

भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाव एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

भीषण बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ । बाढीपछि त्यस क्षेत्र हुँदै यात्रा गरिरहेका नेपाली तथा विदेशी पर्यटकमध्येकैयन सम्पर्कविहीन भएका छन् । कैलाश मानसरोवर यात्राका लागि रसुवा हुँदै चीनतर्फ गएका र अन्य पर्यटकको अवस्थाबारे यकिन विवरण आउन बाँकी छ ।

बाढीले सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुर्‍याउँदा सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ । प्रशासनले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *