काग तिहार मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं — आज कार्तिक कृष्ण त्रयोदशीको दिन नेपालभर काग तिहार मनाइँदैछ। हिन्दू धर्म अनुसार यमराजका दूतको रूपमा कागलाई सम्झी पूजा आराधना गरिने यो पर्व तिहारको पहिलो दिनका रूपमा मनाइन्छ।

काग तिहारको अवसरमा कागलाई दहीभात, मीठा परिकार जस्ता मनपर्ने खानेकुरा दिई पूजा गरिन्छ। जनविश्वास अनुसार यस दिन कागलाई खुसी पार्दा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार त्रयोदशी तिथि सूर्योदयकालमा परेकाले आइतबार नै काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो। यस दिन विशेष पूजाआराधना कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा गरिन्छ। त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको मूर्ति स्थापना गरी विशेष पूजा गरिन्छ।

यसै अवसरमा यमयातनाबाट मुक्तिका लागि शनिबार साँझदेखि नै यम दीपदान सुरु भएको छ। यो दीप दक्षिण फर्काएर दान गर्नुपर्ने वैदिक परम्परा छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार साँझदेखि नै सुरु भइसकेको छ। साथै, लक्ष्मी स्थिर राख्न शनिबार नै धनतेरस पर्व मनाइएको थियो, जसमा गरगहना तथा तामाका भाँडाकुँडा किन्ने चलन रहिआएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *