जापान जानै लागेका विज्ञानकाे सपना प्रहरीको गोलीले ढल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

मकवानपुर । सोमबार बिहान जापान जाने तयारीमा रहेका दोलखाका विज्ञान काफ्ले बानेश्वरमा रहेको एक कन्सल्टेन्सी पुगेका थिए । तर, उनको त्यो सपना पूरा हुन पाएन। ‘जेन जी’ आन्दोलनको क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका छन् । हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ ।

करिब २७ वर्षीय विज्ञानको शरीरमा पछाडि (ढाड माथिको भाग)बाट गोली छिरेर अगाडि (छाती)बाट निस्केको छ। उनका काका तथा तामाकोसी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष महेश काफ्लेका अनुसार विज्ञान प्रदर्शनमा सहभागी हुन गएका थिएनन्। जापान जाने प्रक्रियाका लागि कन्सल्टेन्सी पुगेर फर्कने क्रममा उनी भीडमा फसेका थिए।

महेश भन्छन्, काम सकेर बाहिर निस्कँदा सडकमा चलिरहेको प्रदर्शन हेर्ने क्रममा विज्ञान भीड नजिक पुगेका थिए। सोही क्रममा मच्चिएको भागदौड र होहल्लाबीच उनी गोलीको शिकार बन्न पुगे।


गोली लागेर भुइँमा लडेपछि उनका साथीहरूले तत्काल उनलाई अस्पताल पुर्‍याएका थिए। गोलीले विज्ञानको फोक्सोमा समेत गम्भीर क्षति पुर्‍याएको चिकित्सकहरूले बताएका छन्।

महेशका अनुसार चिकित्सकहरूले शरीरको पछाडिबाट गोली लागेको र अगाडि ठूलो घाउ भएको बताएका छन्। डाक्टरहरूले गोली नै हुन सक्छ भन्नुभयो, तर गोली भेटिएन, उनले थपे।

शल्यक्रियापछि विज्ञानको अवस्था हाल स्थिर भए पनि गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्। काठमाडौंको भत्केको पुल क्षेत्रमा बस्दै आएका विज्ञान स्नातक तहमा अध्ययनरत छन् र जापान जाने खर्च जुटाउन पार्ट-टाइम काम पनि गर्थे।उनको परिवारमा आमाबुबा र दुई जना दाइहरू छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *