×

परिवारलाई समेट्न ज्येष्ठ नागरिकको योगदान

फाल्गुन २२, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – परिवारको जग बुढापाकासँग जोडिएको हुन्छ । भनिन्छ, घरमा हजुरबा–हजुरआमा भए मात्रै परिवार पूर्ण हुन्छ । हजुरबा-हजुरआमा त्यो जरा जस्तै हुन्, जसले परिवारलाई रूख जस्तै बलियो बनाइराख्न सक्छन् ।

एउटा घरमा छोरा–बुहारी काम, सन्तानको पढाइ, खेलकुदमा व्यस्त भइरहँदा त्यही घरमा रहेका ज्येष्ठ नागरिकले भने उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ख्याल राखिरहेका हुन्छन् ।

परिवारलाई समेट्न ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण हुन्छ । संयुक्त परिवारमा हुर्किएका बालबालिकाले हजुरबा–हजुरआमाबाट उच्च संस्कार पाएका हुन्छन्, जसले उनीहरुको चरित्र निर्माणमा ठूलो भूमिका खेल्छ ।

जब परिवारमा केही अप्ठ्यारो पर्दा ज्येष्ठ नागरिकमा आफ्नो समझदारी प्रयोग गरेर परिवारलाई समस्याबाट निकाल्न सक्ने खुबी हुने मनोविज्ञ सन्देश ढकाल बताउँछन् ।

‘बुढापाकाको जीवन अनुभवले भरिएको हुन्छ, जीवनमा धेरै घाम र छाया देखेका हुन्छन्, जसकारण समस्याको समाधान गर्ने जुक्ति उनीहरुमा हुन्छ,’ उनी भन्छन् ।

ढकालका अनुसार वृद्धवृद्धाले जीवनको हरेक आरोह(अवरोह पार गर्दा गर्दै के गर्दा के हुन्छ भन्ने ज्ञान बटुलेका हुन्छन् । त्यसैले उनीहरुलाई ज्ञानको भण्डार भन्न सकिन्छ । जसकारण परिवारमा जे गर्नु परे पनि बुढापाकाकै सल्लाह लिइन्छ ।

गुगल जस्तै हुन् घरका ज्येष्ठ सदस्य

बालबालिकाको विकासको क्रममा उनीहरु वरपर भएका कुराबारे जान्न उत्सुक हुन्छन । समाजमा देखिएका कुरा, शारीरिक विकास, परिवारमा हुने विभिन्न किसिमको अवस्था र चाडपर्वलाई लिएर उनीहरुमा जिज्ञासा हुने गर्छ । त्यो जिज्ञासाको व्याख्या र विश्लेषण गुगलमा जसरी जे खोज्दा पनि सजिलै भेटिन्छ, त्यसरी नै सजिलै वृद्धहरुले गर्न सक्छन् । जसकारण उनीहरुको सोच र विचारमा बिस्तारै विकास हुनसक्ने मनोविज्ञ ढकाल बताउँछन् ।

अझ परिवारमा अवकाशप्राप्त वा घरमै बस्ने अग्रज छन् भने त्यस घरमा हुर्किने सन्तानको लागि झनै फाइदाजनक हुन्छ । उनीहरुसँग समय हुने भएकाले बालबालिकाको मानसपटलमा आएका स(साना किसिमका प्रश्नको जवाफ पनि उनीहरुले बुझ्न सक्ने हिसाबले दिन सक्छन् । यही सिकाउने क्रममा दिनभरको पट्यारलाग्दो समय पनि वृद्धहरुले रमाइलोसँग बिताउन सक्छन् ।

ढकालका अनुसार सानो परिवारमा भने बाबुआमा मात्र छन् र दुवै जागिरे छन् भने सन्तानलाई चाहेर पनि उचित समय दिन नपाउने अवस्था हुन्छ । व्यस्त हुँदा कहिले जवाफ दिने, कहिले नदिने, कहिले पछि सोध भन्ने जस्ता व्यवहारले उनीहरु छोड्न थाल्छन् र सुनाउन हुँदैन रहेछ भन्ने सोच बालबालिकामा विकास हुनसक्छ ।

बालबालिकालाई अल्मलाउन टिभी हेर्न दिने, मोबाइल चलाउन दिने गर्दा एकछिनको समाधानले सन्तान टाढिन सक्ने मनोविज्ञ ढकाल बताउँछन् । त्यसैले सकेसम्म उनीहरुको कुरा सुन्ने र बुझ्ने गर्नुपर्छ, यसले परिवारमा सम्बन्धहरुलाई झनै कसिलो बनाउँदै लैजान्छ ।

बुढापाकाले धर्मकर्ममा बढी रुचि हुने भएकाले त्यस्ता घरमा हुर्किएका छोराछोरी र नातिनातिनामा पनि अध्यात्मतर्फ झुकाव हुनसक्छ । यसले उनीहरुमा नैतिक ज्ञान हुन्छ, जसले सही र गलत छुट्याउन सक्छ ।

‘जुन घरमा हजुरबुबा र हजुरआमा छन्, उनीहरुबाट पाककला सिक्न सक्छन् । उनीहरुमा सीमित मरमसालामा मीठो भोजन बनाउने खुबी हुनसक्छ, जुन सिक्न त्यो घरको सन्ततिले पाउँछन्,’ ढकाल भन्छन् । हजुरआमाबाट खानेकुराको रेसिपीदेखि सिलाइ, बुनाइ जस्ता सिर्जनशील काम सिक्न पनि पाउँछन् ।

वृद्धहरु ज्ञानका भण्डार हुने समाजशास्त्री सञ्जय शर्मा बताउँछन् । आफूभन्दा साना र ठूलोसँग कस्तो व्यवहार गर्ने, मन नपरेको कुरा कसरी प्रस्तुत गर्ने जस्ता ज्ञान पनि घरका अग्रजबाट सिक्न सकिन्छ । घरमा हुने हरेक सानो ठूलो निर्णयमा पनि पछि पछुतो मान्न नपर्ने खालको दूरदर्शी हुँदै निर्णय गर्न सक्छन् ।

घरमा कोही बिरामी भएमा विभिन्न जडिबुटीबाट ठीक पार्ने खुबी हजुरबा-हजुरआमामा हुन्छ । ‘घरमा कसैलाई रुघाखोकी लाग्यो भने हजुरबा(हजुरआमाको औषधिले ठीक पार्न सक्छ । घाउचोटपटक लाग्यो भने उनीहरुसँग हुने जडिबुटीले नै निको पार्छ,’ उनी भन्छन्, ‘त्यस्तै सन्तान जन्मिंदा पनि उनीहरुकै सल्लाह र रेखदेखमा हुर्काउने गरिन्छ ।’

घरमा ज्येष्ठ नागरिक हुँदा पारिवारिक प्रेम पनि राम्रो हुन्छ । हजुरबा(हजुरआमा र बुबाआमाले उनीहरुलाई दिने माया, प्रेम र हेरचाहले उनीहरुलाई पनि अरुप्रति माया गर्नुपर्छ भनेर सिकाउँछ ।

‘निःस्वार्थ प्रेम’

उमेर जीवनको उत्तरार्धमा पुगेपछि गर्नुपर्ने कुराहरु पनि क्रमशस् घट्दै गइरहेका हुन्छन् । यस्तोमा वृद्धवृद्धाले चाहने भनेको सन्तोष नै हो । समाजशास्त्री शर्मा भन्छन्, ‘उनीहरुले चाहने भनेको सन्तोष मात्र हो, जुन आफ्नो सन्तानप्रतिको माया र उनीहरुको उज्यालो अनुहार हेरेर पाउने गर्छन् । निःस्वार्थ भावनाका साथ माया गर्छन्, उनीहरुले परिवारको हितको लागि जति सोच्छन् अरू कसैले सोच्न सक्दैन ।’

नातिनातिनासँग घनिष्ठ सम्बन्धमा रहेका हजुरबा–आमाले आधुनिक परिवेशका बारेमा नातिनातिनाबाट पनि सिक्ने गर्छन् । त्यसैले घरमा हजुरबा(हजुरआमा हुँदा एक परिवार पूर्ण रुपमा आत्मीय हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: