दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई आजीवन कारावासको सजाय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाडौं । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।

सियोलस्थित अदालतमा बिहीबार सुनुवाइका क्रममा उनीविरुद्धको मुद्दामा फैसला सुनाइएको हो, जसले देशको लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

सन् २०२४ डिसेम्बर ३ मा उनले मार्सल ल घोषणा गर्दै व्यवस्थापिकालाई घेरा हाल्न सेना पठाएका थिए । उक्त कदमलाई दशकौँयताकै सबैभन्दा गम्भीर राजनीतिक सङ्कटको सुरुआतका रूपमा हेरिएको छ । विशेष सरकारी वकिलले उनको कार्यले लोकतन्त्रलाई प्रत्यक्ष खतरा पुर्‍याएको दाबी गर्दै कडा सजाय, मृत्युदण्डसम्मको माग गरेका थिए ।

यद्यपि, दक्षिण कोरियामा सन् १९९७ पछि मृत्युदण्ड कार्यान्वयन नगरिएकाले त्यसलाई व्यवहारतः स्थगनमा रहेको मानिन्छ ।

फैसला सुनाउने प्रक्रिया सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा सम्पन्न भएको थियो । अदालत परिसर वरपर कडा सुरक्षा व्यवस्था गरिएको थियो । सयौँ प्रहरी परिचालन गरिएका थिए । जेलको बसमार्फत अदालत ल्याइँदा उनका समर्थकहरूले नारा लगाएका थिए भने आलोचकहरूले कडा सजायको माग गर्दै प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *