स्पेन रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । दर्जनौं घाइते भएका छन् ।

पछिल्लो एक दशकभन्दा बढी अवधिमा यसलाई देशकै सबैभन्दा ठूलो रेल दुर्घटना मानिएको छ ।

म्याड्रिडतर्फ जाँदै गरेको एक रेल लिकबाट उछिट्टिएर विपरीत दिशाको र्ट्याकमा पुग्दा अर्को रेलसँग ठोक्किएको थियो । स्थानीय अधिकारीहरुका अनुसार दुवै रेलमा गरी करिब ४ सय यात्रु र कर्मचारी सवार थिए ।

आपतकालीन सेवाका अनुसार कम्तीमा ७३ जनालाई अस्पताल लगिएको छ । तीमध्ये २४ जनाको अवस्था गम्भीर छ, जसमा चार बालबालिका पनि छन् ।

स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले घटनालाई ‘अत्यन्तै अचम्मको’ भनेका छन् । किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो ।

मालागाबाट स्थानीय समयअनुसार १८ः४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।

मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए ।

रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले दुर्घटनाको अनुसन्धान सुरु भएको जनाएका छन् । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *