हान्टाभाइरस के हो ? नेपालमा जोखिम कति ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टाभाइरस’का बारेमा नेपालमा पनि चासो र चिन्ता व्यक्त हुन थालेको छ। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका लागि विशेष जानकारी जारी गर्दै नेपालमा यसको जोखिमका बारेमा प्रस्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टा भाइरसको संक्रमण पुष्टि भएको छैन । हाल चर्चामा रहेको हान्टा भाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने मुसाहरू नेपालमा सामान्यतया पाइँदैनन् । त्यसैले, नेपालमा यसको तत्काल जोखिम अत्यन्तै न्यून रहेको मन्त्रालयले जनाएको छ ।

हान्टाभाइरस के हो त ?

हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो। यो मुख्यतया संक्रमित मुसाहरूबाट मानिसमा सर्ने गर्दछ। मुसाको पिसाब, दिसा, र्‍याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा यो भाइरसको संक्रमण हुन सक्छ।

वैज्ञानिक अध्ययनहरूका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना निकै कम हुन्छ। अत्यन्त नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूमा मात्र सीमित अवस्थामा यो सर्न सक्ने सम्भावना रहन्छ।

यद्यपि नेपालमा जोखिम कम छ, तर सरसफाइ र सावधानी अपनाउनु सधैं राम्रो हुन्छ। मन्त्रालयले निम्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

१. घर र वरपरको वातावरण सधैं सफा राख्ने ।

२. घरभित्र मुसा प्रवेश गर्न सक्ने सम्भावित दुलो वा प्वालहरू बन्द गर्ने।

३. मुसाको फोहोर सफा गर्दा अनिवार्य रूपमा मास्क र पञ्जाको प्रयोग गर्ने।

४. साबुनपानीले नियमित हात धुने बानी बसाल्ने।

५. अचानक ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।


अफवाहको पछि नलाग्न अनुरोध

स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमा फैलिन सक्ने गलत सूचना र अफवाहको पछि नलाग्न तथा अनावश्यक आतंक सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । आधिकारिक निकाय र स्वास्थ्य मन्त्रालयबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न मन्त्रालयको आग्रह छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *