काठमाण्डौँ । भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ । भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो ।
युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्की लगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए ।
भक्तपुर हाम्रो जन्मथलो पनि हो । त्यसैले यहाँको साँस्कृति र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौं’ किलम्बुले भनेका छन् । महोत्सव निर्देशक किलम्बुले ‘कब्बडी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’, ‘डिग्री माइला’, लगायतका फिल्ममा काम गरेका छन् ।
महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरुले यो महोत्सव प्रारम्भ गरेको हो । स्मितसँगै एभरेष्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन् । २ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् ।
नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव प्रारम्भ हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ढोरपाटन’ लगायतका फिल्महरु देखाइनेछन् । सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने समापन फिल्म हुनेछ । महोत्सवमा २ नेवा सँस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ ।
महोत्सव फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धि कार्यशाला दिँदैछन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्