एनपीएल खेलका चौका बापत एनसेल फाउन्डेसनले २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरूका आधारमा २,०४० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। ‘क्रिकेटलाई कक्षाकोठासँग’ जोड्ने सामाजिक अभियानअन्तर्गत यी सामग्री सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइनेछ ।

सिजन २ मा अहिलेसम्म ९० खेलाडीले ५१० चौका प्रहार गरेका छन् । प्रत्येक चौकामा ४ वटा सामग्री वितरण गर्ने प्रतिबद्धताअनुसार कुल सामग्री सुनिश्चित भएको हो ।

चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा एभेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन् जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् ।

त्यसैगरी काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने राखेको छ ।

विद्यार्थीलाई प्रदान गरिने किटमा झोला, कपी, पेन्सिल, शार्पनर, इरेजरलगायत सामग्री समावेश हुनेछन् । गत वर्ष पनि फाउन्डेसनले ६५३ चौकाबाट २,६१२ सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो र देशभर ९,००० भन्दा बढी सामग्री वितरण गरेको थियो ।

यस वर्षको वितरण प्रक्रिया क्यान, स्थानीय तह र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *