बाढीपछि महँगीको मार : चामल, चिनी, तेलदेखि फलफूलसम्मको भाउ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १८

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा पर्न थालेको छ ।

मुख्य राजमार्गहरू बाढी र कटानका कारण अवरुद्ध भएपछि मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन् । वैकल्पिक र लामो बाटोबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेपछि चामल, चिनी, खानेतेल, तरकारी तथा फलफूलको मूल्य बढेको व्यापारीहरू बताउँछन् । 

काठमाडौंको प्रमुख ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेको छ । नागढुंगा–नौबिसे सडकखण्डको पातले वन क्षेत्रमा समेत सडक भासिएपछि उपत्यकामा सामान भित्र्याउने मुख्य मार्ग प्रभावित भएको हो ।

चिनी र चामलको मूल्य बढ्यो

नयाँ बानेश्वरका व्यापारीका अनुसार केही दिनअघि प्रतिकिलो १२० रुपैयाँसम्ममा पाइने चिनी अहिले १४० रुपैयाँसम्म पुगेको छ । थोक बजारमा चिनीको आपूर्ति घटेको भन्दै कतिपय खुद्रा व्यापारीले बिक्रीसमेत रोक्न थालेका छन् ।

२० किलोको जिरा मसिनो चामलको मूल्य २ हजार ४०० रुपैयाँबाट बढेर २ हजार ६०० देखि २ हजार ७०० रुपैयाँसम्म पुगेको व्यापारीहरूको भनाइ छ ।

खानेतेलको मूल्य पनि बढेको छ । सनफ्लावर तेल ब्रान्डअनुसार प्रतिलिटर ३०० देखि ३५० रुपैयाँसम्म र तोरीको तेल करिब ४०० रुपैयाँ पुगेको बताइएको छ ।

यद्यपि उद्योगीहरूले भने आफूहरूले चामलको उद्योग मूल्य नबढाएको दाबी गरेका छन् । सडक अवरोधका कारण वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको र त्यसको असर बजार मूल्यमा परेको उनीहरूको भनाइ छ । 

‘अहिले खाद्यान्न अभाव छैन’

नेपाल खुद्रा व्यापार संघका अनुसार काठमाडौंमा तत्काल खाद्यान्नको ठूलो अभाव भइसकेको छैन । खुद्रा व्यापारीसँग १५ दिनदेखि एक महिनासम्मको मौज्दात रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको संघले जनाएको छ ।

तर सडक अवरोध लामो समय कायम रहे नयाँ सामानको आपूर्ति प्रभावित हुन सक्ने र त्यसले आगामी दिनमा अभाव तथा थप मूल्यवृद्धिको जोखिम बढाउन सक्ने व्यवसायीहरू बताउँछन् ।

थोक व्यापारीले सही मूल्यको बिल नदिँदा विशेषगरी चिनीको व्यापारमा समस्या भएको खुद्रा व्यापारीहरूको गुनासो छ । उनीहरूले विपद्को मौका छोपेर पुरानो स्टकमा समेत मूल्य बढाइएको भए त्यसको अनुगमन गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

तरकारी र फलफूलमा पनि उस्तै असर

खाद्यान्नसँगै तरकारी तथा फलफूलको आपूर्ति पनि प्रभावित भएको छ । कालीमाटीलगायत प्रमुख बजारमा पर्याप्त मात्रामा सामान भित्रिन नसक्दा मूल्य बढेको व्यापारीहरू बताउँछन् ।

स्कुसको मूल्य प्रतिकिलो ७० रुपैयाँसम्म पुगेको छ । भारतबाट आउने प्याज करिब १२० रुपैयाँ र चिनियाँ लसुन ३५० रुपैयाँसम्म पुगेको व्यापारीहरूको भनाइ छ ।

फलफूलमा पनि मूल्य उल्लेख्य बढेको छ । २० किलोको एक कार्टुन स्याउको मूल्य ४ हजार ५०० रुपैयाँबाट बढेर ७ हजार २०० देखि ७ हजार ५०० रुपैयाँसम्म पुगेको बताइएको छ । अनारको मूल्य प्रतिकिलो ३५० बाट बढेर ४०० रुपैयाँ र केराको मूल्य दर्जनको २०० देखि २५० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी बजारमा समेत बाढीपछि तरकारी तथा फलफूलको आवक घटेको विवरण सार्वजनिक भएको छ । यसले आपूर्ति घट्दा मूल्यमा परेको दबाब देखाउँछ ।

ग्यास अभाव पनि चुलिँदै

सडक अवरोधको असर खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समेत परेको छ । काठमाडौं उपत्यकाका विभिन्न डिपो तथा डिलरमा ग्यास लिन उपभोक्ताको लाइन लाग्न थालेको छ ।

नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास ल्याउने तयारी गरिरहेको जनाएको छ । अत्यावश्यक उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बजार अनुगमन तीव्र

विपद्को मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने तथा मनलाग्दी मूल्य बढाउने व्यवसायीमाथि कारबाही गर्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि १६ वटा टोली गठन गरेकोमा १० वटा टोली परिचालन भइसकेका छन् । चिनी, चामल, खानेतेल, तरकारी, ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य, मौज्दात र आपूर्ति अवस्थाबारे अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

सडक अवरोध तत्काल हट्न नसके उपत्यकाको आपूर्ति प्रणालीमा थप दबाब पर्ने देखिन्छ । त्यसैले वैकल्पिक मार्गबाट आपूर्ति सहज बनाउनुका साथै कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकारी अनुगमन प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *