काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलिने व्यवस्था गरेको छ।
कम्पनीले विपद्को समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार, आफन्त तथा प्रभावित समुदायलाई आर्थिक सहायता पठाउन सहज होस् भन्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार यूएई, साउदी अरब, कतार, कुवेत र ओमानलगायत खाडी मुलुकबाट नेपाल पठाइने रकममा सेवा शुल्क लाग्ने छैन। जापान, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियालगायत एसिया–प्रशान्त क्षेत्रबाट पठाइने रेमिट्यान्समा पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
त्यसैगरी बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्वीडेन, नर्वे, जर्मनी र फ्रान्सबाट नेपाल पैसा पठाउँदा समेत यो सुविधा उपलब्ध हुनेछ। न्युजिल्यान्डबाट पठाइने रकममा पनि सेवा शुल्क मिनाहा गरिएको छ।
सिटी एक्सप्रेस तथा उसका विभिन्न अन्तर्राष्ट्रिय साझेदार च्यानलमार्फत लागू गरिएको यो सुविधाबाट विदेशमा रहेका नेपालीले विपद्पीडित परिवार तथा समुदायलाई आर्थिक सहयोग गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
कम्पनीले प्राकृतिक विपद्को कठिन परिस्थितिमा विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार र प्रभावित समुदायको सहयोगका लागि निःशुल्क रेमिट्यान्स सेवाको उपयोग गर्न आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्