सिटिजन लाइफको नाफा १०६ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०६.६३ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड ९१ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको व्यवसाय विस्तारसँगै बीमाशुल्क आर्जनमा समेत वृद्धि भएको छ। समीक्षा वर्षमा कम्पनीले ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँको तुलनामा यो २४.१९ प्रतिशतले बढी हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोष पनि उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कोषमा २७ अर्ब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा कोषको आकार ३६.१२ प्रतिशतले बढेको देखिन्छ।

यस्तै, कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता शेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ७.८२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३.७८ रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ भने पीई रेसियो ५५.६७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *