काठमाडौं — नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा अध्यक्ष प्रेमा सिंहले विश्व अर्थतन्त्र कोभिड–१९ महामारी र भू–राजनीतिक असरपछि क्रमशः स्थिर हुँदै गएको बताइन्। हाल विश्व मुद्रा बजारमा देखिएको दबाब घट्दै गएकाले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अपनाइरहेको उनको भनाइ थियो।
अध्यक्ष सिंहका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयको अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अपेक्षा गरिएको भए पनि आगामी आर्थिक वर्ष २०८२/८३ मा राजनीतिक तथा सामाजिक अनिश्चितताका कारण आर्थिक गतिविधिमा संकुचन आउन सक्ने आकलन गरिएको छ।
यसबीच कम्पनीको व्यवसाय भने सन्तोषजनक रूपमा अगाडि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा १४ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा करार दायित्वमा थप गरिएको छ, जसले कुल बीमा करार दायित्व १८.८३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, सर्मपण मूल्य तथा अन्य दाबी भुक्तानी गरी कुल ९ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।
लगानीतर्फ कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सुरक्षित, पारदर्शी र दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्दै आएको छ। समीक्षा वर्षमा कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७७ अर्ब ९० करोड २० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीको औसत लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ।
लगानी विविधीकरणको क्रममा कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंकको २ करोड ८० लाखभन्दा बढी संस्थापक सेयर ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रकममा खरिद गरेको छ, जससँगै उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व १३.६१ प्रतिशत पुगेको छ।
त्यसैगरी, कम्पनीको सहायक संस्था नेशनल क्यापिटल लिमिटेड आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको छ र पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
कम्पनीले इटहरी शाखाका लागि आफ्नै जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढाएको छ। प्रविधिमैत्री सेवा विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिममा समेत कम्पनीले जोड दिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्याउँदै आएको छ। समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई २५ लाख रुपैयाँ र बालस्वास्थ्य उपचार परियोजनाका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँसहित कुल ७० लाख २५ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरिएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कर प्रयोजनका लागि ३ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश समेत स्वीकृत गरिएको छ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार रुपैयाँ पुगेको छ, जसले नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजीको मापदण्ड पूरा गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्