काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल भुक्तानी अनुभवलाई अझ सहज र सुरक्षित बनाउने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ।
आधुनिक भुक्तानी प्रणालीको दायरा विस्तार गर्ने लक्ष्यसहित ल्याइएको यस सेवामार्फत बैंकले सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। युनियन–पे कार्ड प्रयोग गरी ग्राहकहरूले स्वदेश तथा विदेशमा सजिलै कारोबार गर्न सक्नेछन्।
विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यो कार्डले भुक्तानी, अनलाइन किनमेल तथा अन्तर्राष्ट्रिय यात्राका क्रममा हुने वित्तीय कारोबारलाई अझ सरल, छरितो र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
कार्ड शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अफर पनि सार्वजनिक गरेको छ। यस अन्तर्गत सीमित अवधिका लागि जारी गरिने स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गरिनेछ। यस अफरमार्फत ग्राहकहरूले कुनै अतिरिक्त शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्।
एनआईएमबी युनियन–पे कार्डको सुरुवातसँगै बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। आगामी दिनहरूमा पनि नवीन, प्रविधिमैत्री तथा ग्राहक–केन्द्रित वित्तीय सेवाहरू निरन्तर रूपमा प्रस्तुत गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्