काठमाण्डौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक २०८२ साल कार्तिक ३० गते ८८ वर्ष पार गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकको प्रधान कार्यालय प्राङ्गणमा आयोजित समारोह सम्पन्न भएको हो। उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए।
नेपालभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्सटेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक डिजिटल बैंकिङ प्रविधिको प्रयोगलाई सक्रिय रूपमा अघि बढाइरहेको छ। करिब १० लाख ग्राहकले डिजिटल बैंकिङमार्फत सेवा उपयोग गरिरहेका छन्।
विगत केही वर्षयता छिटोछरितो, गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रवाहमा जोड दिँदै सक्षम जनशक्तिमार्फत देशभर सेवा विस्तार गरेको बैंकले यस वर्ष पनि उत्कृष्ट कर्मचारी र शाखाहरूलाई सम्मान गरेको छ। २५ वर्ष सेवा गरेका ३ जना तथा २० वर्ष सेवा गरेका ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, चुनौतीपूर्ण अवस्थामा समेत सुरक्षालाई मजबुत बनाउन योगदान पुर्याउने गौरादह र नयाँ बानेश्वर शाखाका सुरक्षाकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। साथै प्रादेशिक तथा भौगोलिक आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पनि पुरस्कृत गरिएको थियो।
समारोहको अन्त्यमा अध्यक्ष शर्माले कर्मचारीलाई अझ सशक्त, इमान्दार र मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्दै आगामी दिनमा पनि बैंक व्यवस्थापनलाई सञ्चालक समितिको निरन्तर साथ रहने विश्वास दिलाए।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्