सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–५ मा अवस्थित भकान्जे टि स्टेटले सोमबार सातौँ साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शेर्पाले भकान्जे टि स्टेटले स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नु भयो। उहाँले यस्ता उत्पादनमूलक उद्योगलाई स्थानीय तहबाट निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
सभामा भकान्जे टि स्टेटका अध्यक्ष जाङ्बु शेर्पाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिवेदनमा चिया उत्पादनको अवस्था, बजार विस्तार, रोजगारी सिर्जना तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराइएको थियो।
त्यसैगरी, संस्थाको लेखा प्रतिवेदन सञ्चालक समितिका सचिव जानकी खड्काले पेश गर्नु भएको थियो । लेखा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको कुल खर्च ७७ लाख २३ हजार १२८ रुपैयाँ रहेको छ भने कुल आम्दानी ७७ लाख ४२ हजार ६५२ रुपैयाँ रहेको छ। प्रतिवेदनले संस्थाको आर्थिक अवस्था पारदर्शी र सन्तुलित रहेको सहभागीहरूले बताएका छन् ।
साधारण सभामा स्थानीय जनप्रतिनिधि, शेयर सदस्य, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले संस्थाको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्