कुस्मामा विश्वकै दोस्रो लामो जिपलाइन शनिबारदेखि सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २४

कुश्मा : पर्वत जिल्लाको कुस्मामा निर्माण भएको विश्वकै दोस्रो लामो जिपलाइन शनिबारदेखि सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनको तयारी गरिएपनि त्यसको एकसाता पछि सञ्चालनमा आएको हो । 

सहासिक पर्यटनको नयाँ तथा आकर्षक गन्तब्य बन्दै आएको कुस्मामा आउने सहासिक पर्यटकलाई लक्षित हार्नेस प्रालि मार्फत पर्वतका स्थानीय युवाहरुको लगानीमा जीप लाईन निर्माण भएको हो । जीपलाईनको कुस्मा नगरपालिकाका प्रमुख तथा जीप लाईनका संरक्षक रामचन्द्र जोशीले शुभारम्भ गरे ।  

लामो समय प्राविधीकलगायतका बिषयमा भएका सबै परिक्षण सफल भएपछि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हार्नेस प्रालिका प्रबन्ध निर्देशक सुनिल बानियाँले बताए । जिपलाइनका लागि सुपरम्यान शैलीका लागि ४ हजार ५ सय र क्लासिकका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । शुभारम्भको अवसर पारेर १० प्रतिशत छुट दिइएको छ । 

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ । शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट वारपार गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ । नदी नै क्रस गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा क्रस हुनेमा पर्वतको जिपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा क्रस गर्छ ।

सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरुलाई आकर्षित गर्नको लागि जिपलाइन महत्वपूर्ण अपेक्षा गरिएको छ ।

‘सुपरम्यान शैलीमा दुबईपछिको लामो जिपलाई यही नै भएका कारण धेरै पर्यटकहरु पर्वतमा आकर्षित हुने अपेक्षा हामीले गरेका छौँ । आउनेहरुलाई हार्नेसले निर्माण गरेको जिपलाइन र हाइड्रोलिक पिङले लोभ्याउने छ,’ बाँनिया भन्छन् ‘बन्जी जम्प निर्माण भएसँगै साहसिक खेलका लागि पर्वतमा पर्यटकीय चहलपहल सुरु भएको थियो । बाँनियाका अनुसार  जीपलाई संचालनका लागि अहिलेसम्म रु १५ करोड खर्च भैसकेको छ । अझै केहि काम सम्पन्न गर्न बाँकी रहेकाले खर्च थप बढ्ने अनुमान छ । अब जिपलाइनले फेरि नयाँ आकर्षण दिएको छ ।’

कुश्मा नगरपालिकाका प्रमुख तथा जिपलाइनका एक जना लगानीकर्ता रामचन्द्र जोशीले पर्वत साहसिक खेलको जिल्लाका रुपमा विकास हुँदै जानुले पर्यटकीय गतिविधिहरु पनि बढ्दै गइरहेको बताए । उनले अन्य शाहसिक पर्यटकीय स्थल बनाउनका लागि नगरपालिका आवश्यक सहकार्य गर्न तयार रहेको बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *