गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २२

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन रामपुरमा बनाउन लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम भदौदेखि स्थगित छ । रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने र स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिकालाई पत्र काटेको तीन साता पुग्न लाग्दै छ । तर, यसबारेमा कुनै ठोस निर्णय अझै भएको छैन । यो बीचमा महानगरको १० औं नगरसभा पनि भइसकेको छ । पुस ८ मा सकिएको १० औं नगरसभाको निर्णयहरू जानकारी दिन महानगरपालिकाले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गर्‍यो । सो बेला महानगरका हालसम्मको प्रगति विवरण राख्दै मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत आयोजना ‘देशकै रूपान्तरणकारी आयोजनाको रूपमा रहेको’ चर्चा गरिन् । तर रंगशालाको काम रोकिएका बारेमा प्रश्न राखेपछि मात्र ‘बाँकी काम संघीय सरकारले गर्ने’ बताइन् । क्रिकेट रंगशाला निर्माणका लागि फाउन्डेसनसँग भएको सहमतिको मुख्य आशय महानगरले जग्गा उपलब्ध गराउने र सहजीकरणको वातावरण बनाउने हो भन्ने रहेको उनले बताइन् । सहयोग रकम धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र जनस्तरबाट जुटाउने भन्ने रहेकोदाहालको भनाइ थियो । ‘अब जुट्न सकेन त सरकार यसै बस्दैन । महानगर आफ्नो जिम्मेवारीबाट पन्छिने छैन,’ मेयर दाहालले भनिन् । राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन महानगरपालिकाको आफ्नो बुताले भने नभ्याउने उनले बताइन् । संघीय सरकार र प्रदेश सरकारसँग बजेटको आग्रह गरेर काम अगाडि बढाउने भनेर फाउन्डेसनलाई पनि राखेर छलफल गरिसकेको उनले सुनाइन् । फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण रहेको जानकारीसहित स्वामित्व ग्रहणका लागि पुस २ मा महानगरलाई पत्र लेखेको थियो । फाउन्डेसनको पत्रअनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशतको हाराहारीमा मात्रै पूरा भएको छ । स्वामित्व ग्रहण गरेपछि पनि महानगरलाई फाउन्डेसनको ऋण तिर्ने र बाँकी काम पूरा गर्नुपर्ने हुन्छ । यी दुवै काम महानगरले गर्ननसक्ने हुँदा संघीय सरकारलाई अनुरोध गर्ने मेयरदाहालले बताइन् । संघीय सरकारका तर्फबाट यी विषयहरू प्रक्रियागत तरिकाले टुंग्याएर छिटो प्रस्ताव ल्याएर आउन भनिएको उनले बताइन् । सो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा हो । सो जग्गामा रंगशाला बनाउन दुवै विश्वविद्यालयका उपकुलपतिले ०७५ साल असोज १९ मा महानगरलाई सहमति दिएका थिए । सो जग्गा बराबर अन्यत्र सट्टाभर्ना दिने भएपछि दुवै विश्वविद्यालयका उपकुलपतिको सहमतिमा महानरलाई जग्गा दिएको कृषि विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले बताए । अहिलेसम्म ५४ करोड रुपैयाँबराबरको निर्माण भएको फाउन्डेशनको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *