यसरी गर्नुस छालाको हेरचाह, जस्ले स्वस्थ राख्छ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १३

छालाको रोग लाग्नबाट बच्न र छालालाई चम्किलो बनाउन हामीले केही सावधानी अपनाउनुपर्छ । त्यसो गरेमा मात्र हाम्रो छाला स्वस्थ रहन सक्छ ।

यदि व्यस्तताको कारण आफ्नो छालाको राम्रो हेरचाह गर्न नभ्याएको अवस्था छ र त्यसले पिरोलिरहेको छ भने यी टिप्स अपनाउन सकिन्छ । यी टिप्सले धेरै छाला सम्बन्धी समस्याबाट बच्ने प्राकृतिक तरिकाबारे जानकारी दिन्छ ।

छालालाई चर्को घामबाट बचाउने 
छालाको हेरचाह गर्ने एउटा महत्त्वपूर्ण उपाय छालालाई चर्को घामबाट बचाउने हो । घाम चर्किएको समयमा सूर्यको किरणमा लगातार लामो समयसम्म बसिरहँदा छालामा चाउरी पना आउने, दाग देखा पर्ने हुनुको साथै छालाको क्यान्सर हुने सम्भावना पनि उच्च हुन्छ ।

छालालाई सूर्यको हानिकारक र चर्को किरणबाट बचाउन सनस्क्रिन लगाउन सकिन्छ । सनस्क्रिन प्रयोग गर्दा कम्तीमा पनि सन प्रोटेक्सन फ्याक्ट (एसपीएफ) १५ भएको प्रयोग गर्नु राम्रो हुन्छ । प्रत्येक दिन दुई घण्टाको फरकमा सनस्क्रिन प्रयोग गर्नु राम्रो हुन्छ ।  बिहानको १० बजे अघिको कलिलो घाम भने छालाको लागी लाभदायी मानिन्छ । त्यति बेलाको घामको किरणमा प्रशस्त मात्रामा भिटामिन-डी पाइन्छ ।

तर बिहान १० बजे पछि बेलुकाको ४ बजेअघिको घाम भने छालाको लागि हानिकारक हुन्छ । त्यसैले सो अवधिमा भने छाया तथा शीतल बस्नु उपयुक्त हुन्छ । पुरै शरीर तथा छाला ढाक्ने गरी लुगा लगाएर पनि छालालाई सूर्यको हानिकारक किरणबाट बचाउन सकिन्छ । टोपी लगाउनु र सूर्यका किरणबाट बच्ने रङ प्रयोग गरी डिजाइन गरिएको लुगा लगाउनुले पनि सघाउँछ ।

धूम्रपान नगर्ने 
धूम्रपानले छालामा बुढ्यौलीपन ल्याउनुको साथै चाउरी पना बढाउनको लागि विशेष सहयोग पुर्‍याउँछ । धूम्रपानले छालाको बाहिरी तहमा रहेको स-साना रक्तवाहिनी नलीलाई साँघुरो बनाउँछ जसले गर्दा रक्तप्रवाहमा असर गरी छाला निलो रङको देखिन थाल्छ ।

धूम्रपानले छालाको पोषक तत्त्व र अक्सिजनलाई नष्ट गर्ने काम गर्दछ, जुन तत्त्व स्वस्थ छालाको लागि अति आवश्यक छ । धूम्रपानले कोलेजन र यलास्टिन फाइवरलाई नष्ट गर्ने काम गर्छ जुन फाइवरले छालामा लचिलोपना ल्याई छाला बलियो राख्ने काम गर्छ । त्यस्तै धूम्रपान गर्दा गरिने विभिन्न क्रियाकलाप जस्तै नाकबाट धुवाँ निकाल्नु, आँखामा बल पर्नुले आँखा रसिलो बनाउन र चाउरिन मद्दत पुग्छ । यसको अतिरिक्त धूम्रपानले स्क्वैमस सेल नामक छाला सम्बन्धी क्यान्सर हुने सम्भावना उच्च रहन्छ ।

त्यसैले आफ्नो स्वास्थ्य र छालाको हेरचाहको लागि यदि धूम्रपानको लत छ भने पनि चिकित्सकको सल्लाह र सहयोगमा उक्त लत त्याग्नुपर्ने हुन्छ ।

छालालाई जतनले व्यवहार गर्ने 
दैनिक गर्ने सरसफाइ होस् अथवा दारी काट्ने, रौँ निकाल्ने काम नै किन नहोस् छालाको जतन गर्दै बिस्तारै गर्नुपर्छ । धेरै तातो पानीले धेरै समय नुहाउँदा छालालाई आवश्यक चिल्लो पदार्थ पखाली छाला सुक्खा हुने गर्छ । त्यसैले तातो पानीको सट्टामा नुहाउँदा हलुका मनतातो पानी प्रयोग गर्नुपर्छ ।

छालामा कडा साबुन, फेसवास र डिटरजेन्ट प्रयोग गर्नुहुँदैन । दारी काट्दा र रौँ निकाल्दा क्रिम, लोसन र जेलको प्रयोग गर्नुपर्छ । सफा र लाग्ने रेजरको प्रयोग गर्नुपर्छ । रौँ तथा दारी काट्दा रौँ बढ्ने भागतिर काट्नुपर्छ रौँ बढ्नेको विपरीत दिशातर्फ पारेर काट्नुपर्छ । गिलो छालालाई सफा र बिस्तारै नरम तौलिया र रुमालले पुछ्नुपर्छ । त्यसपछि मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

स्वस्थ खाना खाने
यदि छालाको हेरचाह गर्दै हुनुहुन्छ भने स्वस्थ र पोषणयुक्त खाना खानुपर्छ । प्रोटिन, फलफूल र तरकारी अत्यधिक मात्रामा खानुपर्छ । केही खोज र अनुसन्धानले प्रशोधित खाना, पत्रु खाना खानुले छालालाई असर पुर्‍याउँछ । त्यस्तो खाना खानु हुँदैन । प्रशोधित कार्बोहाइड्रेटको प्रयोग पनि शरीरको लागि हानिकारक हुन्छ । छाला स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्छ साथै शरीर लाही हाईड्रेट राख्नुपर्छ ।

तनाव व्यवस्थापन 
अनावश्यक तनाव लिँदा त्यसले छालालाई धेरै संवेदनशील बनाउनुको साथै अरू छाला सम्बन्धी समस्या निम्त्याउँछ । त्यसैले छाला स्वस्थ राख्न मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा समेत ध्यान पुर्‍याउनुपर्छ । पर्याप्त मात्रामा निदाउने, खुशी हुने जस्ता क्रियाकलापले नाटकीय रूपमा छालामा चमक ल्याउने काम गर्छ । एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *