निर्माण क्षेत्रको संकट समाधान गर्ने एजेण्डासहित गौतम मैदानमा

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ३, २०८३

काठमाडौं : स्थानीय करदेखि बैंक ग्यारेन्टी र निर्माण व्यवसायीको पेशागत सुरक्षासम्मका मुद्दा प्राथमिकतामा

निर्माण सामग्री र इन्धनको निरन्तर मूल्यवृद्धि, स्थानीय करको भार तथा निर्माण आयोजनामा देखिएका अनेकौँ व्यावसायिक कठिनाइबीच निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। मंसिर ४ देखि ६ गतेसम्म हुने १६औँ साधारण सभा तथा ९औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल प्रसाद गौतम नेतृत्वको समूहले निर्माण व्यवसायीका समस्या समाधानलाई मुख्य एजेण्डा बनाउँदै चुनावी अभियान तीव्र पारेको छ।

आफ्नो समूहको पक्षमा समर्थन जुटाउन गौतमसहितको टोली कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर निर्माण व्यवसायीहरूसँग भेटघाट तथा छलफल गर्दै अधिवेशनमा‌होमिएको छ। अधिवेशनअघि नै जिल्लास्तरमा व्यवसायीका समस्या र चुनौती पहिचान गरी समाधानका लागि ठोस पहल गर्ने समूहको योजना रहेको छ।

गौतमले पेशागत हकहितको संरक्षण, निर्माण सेवामा आबद्ध व्यवसायीका समस्या समाधान र संस्थाको प्रतिष्ठा अभिवृद्धिलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

गौतम नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा लेखनाथ खत्री, द्वितीय उपाध्यक्षमा अशोककुमार रिजाल (कश्यप) र तृतीय उपाध्यक्षमा दिनेश पौडेल रहेका छन्। त्यस्तै, महासचिवमा दुर्गा बहादुर बुढा मगर, निर्वाचित उपमहासचिवमा योगराज ढकाल, आन्तरिक उपमहासचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुरेश भट्टराई र सहकोषाध्यक्षमा लिलाबहादुर गुरुङ उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

गौतम समूहले विशेषगरी स्थानीय करको समस्या, निर्माण सामग्री तथा इन्धनमा भइरहेको निरन्तर मूल्यवृद्धि र व्यवसायीले भोग्दै आएका आर्थिक कठिनाइलाई प्राथमिकतामा राखेको जनाएको छ। साना तथा ठूला दुवै प्रकृतिका निर्माण व्यवसायीलाई राहत पुग्ने गरी आवश्यक पहल गर्ने समूहको प्रतिबद्धता छ।

त्यसैगरी, सूचना प्रविधिमैत्री निर्माण क्षेत्रको विकास, नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धि र संगठन सञ्चालनलाई प्रभावकारी बनाउने योजना पनि समूहले अघि सारेको छ। यसका लागि महासंघका सदस्यहरूलाई आवश्यक तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने एजेण्डा समेटिएको छ।

इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर समस्यामा परेको उल्लेख गर्दै गौतम समूहले सरकारसँग मूल्यवृद्धिको प्रभाव न्यूनीकरणका लागि पहल गर्ने जनाएको छ। निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन भइरहेको अवस्थामा बैंक ग्यारेन्टी, बिमा तथा जरिवानासम्बन्धी व्यवस्थामा सहजीकरण गर्दै व्यवसायीलाई सहज वातावरण निर्माण गर्ने योजना पनि समूहले अघि सारेको छ।

यस अधिवेशनमा ५१८ भन्दा बढी निर्माण व्यवसायी सहभागी हुने बताइएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै प्रदेशको निर्माण व्यवसाय क्षेत्रका समस्या, चुनौती र आगामी कार्यदिशाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।

निर्माण व्यवसायीको पेशागत सुरक्षा, आर्थिक चुनौतीको समाधान र संगठनात्मक सुदृढीकरणलाई मुख्य एजेण्डा बनाएको गौतम समूहले अधिवेशनबाट आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *