कुमारी बैंकको खुद नाफा १ अर्ब ७ करोड माथि

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १५, २०८३

काठमाडौं :  कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार समीक्षा अवधिमा बैंकले आफ्नो खुद नाफामा सामान्य सुधार हासिल गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकले चालु आवको सोही अवधिमा १ दशमलव ७० प्रतिशतले वृद्धि गर्दै १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य संकुचन आए पनि सम्भावित कर्जा जोखिमबापत छुट्याइने कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको भारी कमीका कारण बैंकको नाफा सकारात्मक बन्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६४ दशमलव ४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ रहेको थियो। इम्पेयरमेन्ट चार्जमा आएको यसै ८१ करोड ४१ लाख रुपैयाँको ठूलो घटबढका कारण खुद ब्याज आम्दानी खुम्चिए पनि बैंकको सञ्चालन मुनाफा ३२ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २८ दशमलव १९ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवमा घटेर २ अर्ब ९ करोड़ १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा बैंकको कुल ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाखबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च ४ अर्ब ४२ करोड ४० लाखबाट घटेर ४ अर्ब ९ करोड़ ४६ लाख रुपैयाँ कायम भएको छ। उता, गैर-ब्याज आम्दानीतर्फ खुद फि तथा कमिसन आम्दानी ३ दशमलव ९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ रहेको छ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ६ दशमलव ३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा प्रवाह ७ दशमलव ६८ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात ७१ दशमलव ७१ प्रतिशत कायम भएको छ।

बैंकको कर्जाको गुणस्तरमा भने केही दबाब देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ६ दशमलव ९८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा बढेर चालु आवमा ८ दशमलव ७२ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १ दशमलव ५६ प्रतिशतबाट बढेर २ दशमलव १७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेका कारण कुल निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज ९१ दशमलव ६६ प्रतिशतमा झरेको छ।

बजारको ब्याजदर घट्दो चक्रमा रहेका कारण बैंकको फण्ड लागत ३ दशमलव ४३ प्रतिशतमा, आधार दर ४ दशमलव ८० प्रतिशतमा र स्प्रेड दर ३ दशमलव ०३ प्रतिशतमा सीमित भएको छ। बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा पुगेको छ भने वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ रहेको छ।

हाल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा र पुँजी पर्याप्तता अनुपात १२ दशमलव ६७ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *