काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले दोषारोपण र राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।
बाढीलाई कहालीलाग्दो प्राकृतिक विपत्ति भन्दै दुःख व्यक्त
राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपको संज्ञा दिए ।
बाढीपहिरोबाट असङ्ख्य मानव जीवनसँगै घरपरिवार, सडक, पुल तथा जलविद्युत् आयोजनालगायत महत्त्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुगेको भन्दै उनले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे ।
खोजी र उद्धारलाई निरन्तरता दिन आग्रह
राष्ट्रपति पौडेलले कठिन भौगोलिक अवस्थाका बाबजुद बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराए ।
आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकको साहस र सेवाभावको उनले प्रशंसा गरे ।
विस्थापितका लागि खाद्यान्न र सुरक्षित आश्रय सुनिश्चित गर्न आग्रह
राष्ट्रपति पौडेलले विस्थापित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रयस्थल सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मृतकको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत वैज्ञानिक विधि अपनाउन पनि उनले सुझाव दिए ।
जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
हिमनदी फुट्नु र हिमपहिरो जानुलाई विश्वव्यापी तापक्रम वृद्धिको परिणामसँग जोड्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था देखिएको भन्दै उनले नेपालजस्ता देशका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।
विकास मोडेलमाथि पुनर्विचार आवश्यक
राष्ट्रपति पौडेलले पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको विद्यमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने बताए ।
विगतका भूकम्प र महामारीमा जस्तै यसपटक पनि नेपाली जनताले धैर्य र साहसका साथ विपत्तिको सामना गर्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय पुनरुत्थानका लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्