काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि सरकारले खोजी, उद्धार र राहतमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विनाशकारी बाढीको समीक्षा गर्दै प्रचण्डले सरकारले विपद्को समयमा ‘हिरोइजम’ मात्र देखाएको आरोप लगाए।
‘सरकारले हिरोइजम देखायो । प्रधानमन्त्रीको काम बिहान–बेलुका स्टाटस राख्ने र गृहमन्त्री सुरुङ कोट्याउनमै सीमित देखिए,’ प्रचण्डले भने, ‘विपद्को बेला प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग समन्वय गरेर अगाडि बढ्नुपर्थ्यो । विश्वका नेताहरूलाई अपिल गर्नुपर्थ्यो । त्यस्तो कुनै पहल गरिएको देखिएन।’
उनले सरकारको गतिविधि अपरिपक्व देखिएको भन्दै यसरी देश सञ्चालन गर्न नसकिने टिप्पणी गरे।
‘विदेशी प्राविधिक सहयोग मागेको भए धेरैको ज्यान जोगिन्थ्यो’
प्रचण्डले सुरुङमा फसेका नागरिकको उद्धारका लागि छिमेकी तथा मित्रराष्ट्रसँग तत्काल प्राविधिक सहयोग माग्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले विपद्का बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाउन आवश्यक पहलकदमी नलिएको उनको आरोप छ। तत्काल विदेशी प्राविधिक सहयोग लिएको भए सुरुङमा फसेका धेरै नागरिकको ज्यान जोगाउन सकिने उनको धारणा थियो।
जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न सुझाव
प्रचण्डले भोटेकोशी बाढीको मुख्य कारणमध्ये जलवायु परिवर्तन रहेको भन्दै सरकारले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताए।
‘जलवायु परिवर्तन पुँजीवादी खेमाका देशहरूको राज्यप्रणालीसँग सम्बन्धित छ । जलवायु न्यायका लागि सरकारले गम्भीर रूपमा विश्वको ध्यानाकर्षण गराउनुपर्छ,’ उनले भने।
बैठकमा सहसंयोजक माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुँदा सगरमाथाको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राखेर जलवायु परिवर्तनले हिमालमा पारेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराएको स्मरण गरे।
पुनर्निर्माण र पुनःस्थापनामा जोड
बैठकले अब खोजी तथा उद्धारसँगै राहत, पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ। नेता गङ्गानारायण श्रेष्ठका अनुसार बैठकले सबै राजनीतिक दलसँग समन्वय गरी पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिएको छ।
‘सबैभन्दा महत्त्वपूर्ण विषय पुनर्निर्माण र पुनःस्थापनामा ध्यान दिनुपर्छ । विकासको मोडल नै नयाँ ढङ्गले सोच्नुपर्छ,’ श्रेष्ठले भने।
उनका अनुसार नदी किनारमा बस्ती विकास तथा भौतिक पूर्वाधार निर्माणको विषयमा समेत पार्टीले नयाँ ढङ्गले पहलकदमी लिनुपर्ने विषय बैठकमा उठेको थियो।
नेकपाले पारित गर्यो २४ बुँदे विशेष प्रस्ताव
नेकपाले भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गर्दै २४ बुँदे विशेष प्रस्ताव अनुमोदन गरेको छ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रस्तावमा खोजी तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनःस्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालन, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष, पूर्वसूचना प्रणाली, द्रुत प्रतिकार्य टोली, अन्तर्राष्ट्रिय जलवायु न्याय र राष्ट्रिय एकतासहितका विषय समेटिएका छन्।
बैठकले पार्टी नेतृत्व विपद् प्रभावित क्षेत्रमा फिल्डमै पुगेर काम गर्नुपर्ने भन्दै संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई रसुवा र नुवाकोट जान सुझावसमेत दिएको छ।
पार्टीले गठन गरेको केन्द्रीय खोज तथा उद्धार समन्वय समितिले प्रभावित क्षेत्रमा भइरहेका कामबारे बैठकमा समीक्षा प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो।
बाढीपछि खोजी, उद्धार र राहतमा पार्टीका विभिन्न संरचनाबीच प्रभावकारी समन्वय हुन नसकेको विषयमा समेत नेताहरूले समीक्षा गरेका थिए।बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्