गोरखामा थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

गोरखा । गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ ।

आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन । बाढी आएको थाहा पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए ।

बाढीले सोही क्षेत्रमा रहेको झोलुङ्गे पुलसमेत बगाएको छ । पुल बगाएपछि मनास्लु पदयात्रामा गएका पर्यटकलाई आवतजावतमा समस्या पर्ने भएको छ ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि पैदल हिँड्न मिल्ने गरी स्थानीयस्तरबाट वैकल्पिक व्यवस्था गर्न सकिने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतर्फ केही समय पानी थुनिएर बसेपछि लेदोसहितको बाढी आएको र त्यसले क्षति पुर्‍याएको हो ।

थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *