काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरूबीच अनौपचारिक छलफल तीव्र भएको छ।
निर्वाचन आयोगले गत पुसमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएपछि उत्पन्न विवाद मिलाउन सभापति गगन थापाले इतर समूहका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग संवाद अघि बढाएका छन्।
विवाद समाधानका लागि भदौ २४ गते तय भएको वडा अधिवेशन केही दिन सार्ने तयारी भइरहेको कांग्रेसका नेताहरूले बताएका छन्। सम्भवतः असोज २ गतेसम्म वडा अधिवेशन सार्ने विषयमा छलफल भइरहेको छ।
डा. शेखर कोइरालाले पार्टी एकताका लागि अघि सारेका पाँचबुँदे प्रस्तावका अधिकांश विषयमा संस्थापन पक्ष सकारात्मक देखिएपछि सहमतिको सम्भावना बढेको नेताहरूको दाबी छ।
यसैबीच, सभापति थापाले निवर्तमान कार्यवाहक सभापति खड्कासँग पनि अनौपचारिक संवाद गरिरहेका छन्। शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकसमेत एक दिन सारेर आइतबार दिउँसो १ बजेका लागि तय गरिएको छ।
यता, निवर्तमान सभापति शेरबहादुर देउवासँग भने थापाको भेट हुन सकेको छैन। देउवा पक्ष सर्वोच्च अदालतमा दायर पुनरवलोकनको रिटमा फैसला भएपछि मात्रै थप छलफल गर्ने तयारीमा रहेको बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्