चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।

जलस्रोत मन्त्रालयका अनुसार चीनले नेपाललाई नदीमा बन्न सक्ने अवरोध (ब्यारियर), हिमताल तथा त्यहाँबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिमसम्बन्धी सूचना उपलब्ध गराउने भएको हो। यस्ता सूचनाले सम्भावित विपद्को पूर्वानुमान तथा जोखिमयुक्त क्षेत्रमा समयमै आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनको मौसमसम्बन्धी अधिकारीहरूले यसअघि पनि चीन–नेपाल सीमाको केरुङ–रसुवा क्षेत्रमा भएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी तथा पूर्वानुमानसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएका थिए।

सीमा क्षेत्रमा विपद्को अवस्था सिर्जना भएपछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो। उक्त परामर्शका क्रममा मौसमको अवस्था, सम्भावित जोखिम तथा आगामी दिनमा हुनसक्ने मौसम परिवर्तनबारे जानकारी आदानप्रदान गरिएको थियो।

नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा हिमताल विस्फोटजस्ता जलजन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा छिमेकी मुलुकबाट प्राप्त हुने यस्ता निगरानी तथा पूर्वसूचनाले विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

नदीमा अचानक पानीको बहाव बढ्ने, पहिरोका कारण नदी थुनिने वा हिमतालमा पानीको सतह बढ्नेजस्ता घटनाले तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले समयमै सूचना प्राप्त गर्नु महत्वपूर्ण मानिन्छ।

चीन र नेपालबीच जलवायु तथा मौसमसम्बन्धी सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *