काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संघीय संसद्को संसदीय क्यालेन्डर प्रभावित भएको छ।
संसदीय क्यालेन्डरअनुसार प्रतिनिधिसभाको बैठक सोमबार र मंगलबार बस्नुपर्ने थियो। तर, भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएपछि बैठक बस्न सकेको छैन। बैठक पुनः कहिले बस्ने भन्ने टुंगोसमेत लागेको छैन।
क्यालेन्डरअनुसार सोमबारको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची थियो। त्यसैगरी शून्य समय सञ्चालन गर्ने तथा केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीसमेत तय गरिएको थियो।
यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची थियो।
मंगलबारकै सम्भावित कार्यसूचीमा शून्य समय र विशेष समय सञ्चालन गर्नुका साथै मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समावेश थियो। तर, प्रतिनिधिसभा बैठक नै बस्न नसकेपछि क्यालेन्डरअनुसारका काम प्रभावित भएका छन्।
यसैबीच प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएकोलगायतका विषयमा छलफल गर्न आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको बैठक पुनः कहिले बोलाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
संसदीय क्यालेन्डरअनुसार आगामी बैठकहरूका दिन र सम्भावित कार्यसूचीसमेत निर्धारण गरिएको छ। तर, बैठक अनिश्चितकालका लागि स्थगित भएकाले ती कार्यसूचीअनुसार संसद् सञ्चालन हुन सकेको छैन।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्