काठमाडौं । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा उपचारका लागि पुगेका नागरिकमध्ये केहीमा झाडापखालाका लक्षण देखिएको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा प्रभावित क्षेत्रमा उपचारमा खटिएको छ। उपचारका क्रममा हालसम्म दुई–चार जनामा झाडापखालाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. सरोजकुमार गोहिवारले जानकारी दिए।
बाढी तथा प्राकृतिक विपत्तिपछि प्रभावित नागरिकमा मानसिक त्राससमेत बढेको चिकित्सकहरूले बताएका छन्। धेरैजसोमा डर, तनाव र असुरक्षाको भावनाका कारण पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) जस्ता मानसिक आघातका समस्या देखिएको डा. गोहिवारले बताए।
त्यस्तै, नियमित स्वास्थ्य समस्या भएका नागरिकमा उच्च रक्तचाप, मधुमेह तथा घुँडा दुख्नेजस्ता समस्या बढी देखिएको चिकित्सकहरूको भनाइ छ।
बाढीका कारण खानेपानीका स्रोत दूषित भएकाले झाडापखाला तथा हैजाजस्ता संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित महामारी रोक्न चिकित्सकीय टोलीले स्थानीयवासीलाई स्वच्छता कायम राख्न, सुरक्षित पानी प्रयोग गर्न तथा स्वास्थ्यमा समस्या देखिए तत्काल उपचार लिन आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा नियमित सेवन गर्नुपर्ने उच्च रक्तचाप र मधुमेहका औषधिको अभावसमेत देखिएको छ। बाढीका कारण खाद्यान्न आपूर्तिमा समस्या हुनुका साथै विद्युत् अवरुद्ध हुँदा मोबाइल फोन चार्ज गर्नसमेत कठिनाइ भएको चिकित्सकहरूले बताएका छन्।
विपद्पछि स्वास्थ्य सेवासँगै अत्यावश्यक औषधि, सुरक्षित खानेपानी, खाद्यान्न र सञ्चार सुविधाको सहज उपलब्धता प्रभावित नागरिकका लागि तत्काल आवश्यक देखिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्