केरुङ विपत्तिमा चीनको व्यापक उद्धार अभियान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको हिमपहिरो र त्यसपछि निम्तिएको बाढी–पहिरोपछि चीनले केरुङ काउन्टीमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ।

उच्च हिमाली क्षेत्रमा खसेको हिमपहिरोले ढुंगा, माटो तथा हिमनदीका अवशेष बगाउँदै तल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ पक्षले उद्धार तथा पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिएको हो।

विपत्तिपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको निर्देशनमा उच्चस्तरीय संयन्त्र परिचालन गरिएको छ। राष्ट्रपति सीको निर्देशनअनुसार प्रधानमन्त्री ली छ्याङले विपद्ग्रस्त केरुङ क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन तथा बेपत्ता चिनियाँ र विदेशी नागरिकको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

चीनले खोज तथा उद्धारका लागि ठूलो संख्यामा जनशक्ति, सवारीसाधन र आधुनिक उपकरण परिचालन गरेको छ। चिनियाँ अधिकारीहरूका अनुसार सेना, सशस्त्र प्रहरी, अग्नि तथा उद्धार टोली, सीमा सुरक्षा र विभिन्न इन्जिनियरिङ टोलीसहित २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन भएका छन्।

उद्धार अभियानमा ड्रोन, उद्धारकुकुर, जीवन पत्ता लगाउने उपकरण, लेजर तथा एआई निगरानी प्रविधि प्रयोग भइरहेको छ। सडक अवरुद्ध भएपछि क्षतिग्रस्त जी२१६ सडक खुलाउने तथा सञ्चार र विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम पनि सँगसँगै अघि बढाइएको छ।

भौगोलिक कठिनाइ र सडक सञ्जालमा भएको क्षतिका कारण उद्धार चुनौतीपूर्ण बनेपछि चीनले स्थल, जल र हवाई माध्यमलाई एकीकृत गरेर खोजी अभियान अघि बढाएको छ। विशेष तालिमप्राप्त उद्धारकर्मी र उद्धारकुकुरलाई जोखिमयुक्त क्षेत्रमा समेत परिचालन गरिएको छ।

विपद्पछि पहिरोका कारण बनेको कृत्रिम तालमा ठूलो मात्रामा पानी जम्मा भएकाले थप बाढीको जोखिमसमेत बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ निकायहरूले ताल र आसपासको भूभागको निरन्तर निगरानी गरिरहेका छन्।

नेपालमा पनि चिनियाँ प्राविधिक टोली

चीनले आफ्नै क्षेत्रमा उद्धार अभियान चलाइरहेका बेला नेपालतर्फ पनि सहयोग विस्तार गरेको छ। नेपाल सरकारको अनुरोधमा चीनबाट ९ जना सुरुङ उद्धार विज्ञ नेपाल आएका छन्। उनीहरू बाढीका कारण जलमग्न भएका जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको खोज तथा उद्धारमा परिचालित भएका छन्।

चिनियाँ पक्षले नेपाललाई आपत्कालीन सहायता र मानवीय राहत उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना पठाएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालका परराष्ट्रमन्त्रीसँगको संवादमा विपद्को समयमा दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ पक्षले चीनमा अड्किएका नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल फर्काउन सहजीकरण गर्ने जनाएको छ।

यसैबीच, नेपाल सरकारले विपत्तिको गम्भीरतालाई ध्यानमा राख्दै विदेशी प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। चिनियाँ सुरुङ उद्धार विशेषज्ञको परिचालनलाई त्यसैको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बाढी, पहिरो र हिमपहिरोबाट दुवै देश प्रभावित बनेका बेला चीनको उद्धार अभियान र नेपाललाई उपलब्ध गराएको प्राविधिक तथा मानवीय सहयोगले दुई देशबीचको विपद् व्यवस्थापन सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *