आफन्त नै पुगे हेलिकप्टरमार्फत माथिल्लो त्रिशूली–१ घटनास्थलतर्फ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका भनिएका व्यक्तिको अवस्थाबारे जानकारी लिन उनीहरूका आफन्त घटनास्थलतर्फ गएका छन्।

आफन्तहरूले पाँच दिनसम्म पनि आयोजनामा रहेका व्यक्तिको अवस्थाबारे स्पष्ट जानकारी नदिएको भन्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए। कम्पनीसँग छलफलपछि सहमति जुटेपछि उनीहरूलाई दुईवटा हेलिकप्टरमार्फत घटनास्थल लगिएको हो।

घटनास्थल पुगेपछि आफन्तहरूले आयोजनामा रहेका आफ्ना परिवारजनको अवस्था, उद्धारको प्रगति तथा बाढीबाट आयोजनामा भएको क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।

कम्पनी र पीडित पक्षबीच भएको सहमतिअनुसार खोज तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली उपलब्ध गराउने तथा घटनास्थल जान चाहने आफन्तको आवश्यक यातायात र खर्च कम्पनीले व्यहोर्नेछ।

त्यसैगरी आयोजनामा कार्यरत सबै कर्मचारीको अवस्थाको विवरण आफन्तलाई उपलब्ध गराउने, बाढी आएको दिनको सीसीटीभी फुटेज उपलब्ध गराउने र कम्पनीले तयार गर्ने तत्कालीन कार्ययोजना पीडित पक्षलाई जानकारी गराउने सहमति भएको छ। आवश्यक परे सरकारी निकायसँग समन्वय गर्ने तथा घटनासम्बन्धी विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने विषयमा पनि सहमति जुटेको छ।

बाढी आएको दिनदेखि नै कम्पनीले आयोजनास्थलमा रहेका कामदार तथा कर्मचारीको अवस्थाबारे पर्याप्त जानकारी नदिएको आफन्तहरूको आरोप थियो। सुरुङ तथा मैलुङ साइटमा रहेका व्यक्तिको अवस्था यकिन हुन नसक्दा आफूहरू थप चिन्तित बनेको उनीहरूको भनाइ थियो।

कम्पनीका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा ५ सय ७६ जना कामदार कार्यरत थिए भने मैलुङस्थित साइट कार्यालयमा ७५ जना थिए। आफन्तहरूले घटनास्थलमै पुगेर आफ्ना मान्छेको वास्तविक अवस्था बुझ्न पाउनुपर्ने माग गर्दै आएका थिए।

कम्पनीले उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको भए पनि सरकारी अनुमति नपाएका कारण उडान हुन नसकेको दाबी गरेको थियो। कम्पनीका एक कोरियन प्रतिनिधिले उद्धारका लागि पाँचवटा हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका थिए।

अब भने आफन्तलाई नै घटनास्थल पुर्‍याइएपछि आयोजनामा भइरहेको खोज तथा उद्धारबारे प्रत्यक्ष जानकारी लिने बाटो खुलेको छ। उनीहरूले उद्धारमा खटिएका टोली, कम्पनीका प्रतिनिधि तथा आयोजनामा कार्यरत व्यक्तिबारे जानकारी लिनुका साथै बाढीबाट भएको क्षतिको अवस्थासमेत अवलोकन गर्नेछन्।

नुवाकोटमा निर्माणाधीन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना बाढीपछि प्रभावित बनेको हो। सुरुङ र मैलुङ क्षेत्र प्रभावित भएपछि आयोजनामा रहेका व्यक्तिको उद्धारमा ढिलाइ भएको भन्दै परिवारजनले कम्पनीमाथि प्रश्न उठाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *