काठमाडौं । बाढीका कारण अभिभावकविहीन वा असहाय बनेका बालबालिकालाई पूर्वस्वीकृति र कानुनी प्रक्रिया पूरा नगरी अन्यत्र लैजान वा बाल गृहमा राख्न राष्ट्रिय बाल अधिकार परिषद्ले रोक लगाएको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लामा आएको बाढीपछि बालबालिका जोखिममा परेका छन्। उनीहरूको संरक्षणका नाममा अनधिकृत ओसारपसार हुन सक्ने भन्दै परिषद्ले सम्बन्धित सबैलाई सचेत गराएको हो।
परिषद्का अनुसार बालबालिकालाई सकेसम्म परिवारका सदस्य वा नातेदारको संरक्षणमा राख्नुपर्नेछ। त्यसका लागि स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीको सिफारिस आवश्यक हुनेछ।
परिवार वा स्थानीयस्तरमा संरक्षण सम्भव नभएका बालबालिकालाई मात्र आवश्यक प्रक्रिया पूरा गरी परिषद्को अनुमति प्राप्त बाल गृहमा अस्थायी रूपमा राख्न सकिनेछ। प्रक्रिया नपुर्याई बालबालिका ओसारपसार वा संरक्षण गरे कानुनी कारबाही हुन सक्ने परिषद्ले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्