झापामा भन्सार छलीविरुद्ध प्रहरीको कडाइ, ७७ लाखभन्दा बढीको सामान नियन्त्रण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ५

भद्रपुर । झापामा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत साउन महिनामा ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली तथा अवैध रूपमा ल्याइएका सामान नियन्त्रणमा लिने क्रममा कुल ७७ लाख ९१ हजार रुपैयाँ बराबरको सामग्री बरामद भएको हो। सो क्रममा अवैध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमा नाकामा निगरानी बढाउनुका साथै चोरी–तस्करी हुने सम्भावित क्षेत्रहरूमा नियमित गस्तीलाई समेत तीव्रता दिएको जनाएको छ। राजस्व चुहावट रोक्न संवेदनशील क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई प्राथमिकता दिइएको छ।

यसैबीच, जिल्लामा नदीजन्य प्राकृतिक स्रोतको अवैध उत्खनन तथा दोहनविरुद्ध पनि प्रहरीले कारबाही गरेको छ। अवैध उत्खननमा प्रयोग भएका १५ वटा सवारीसाधनसहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त कारबाहीबाट ३ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। प्रहरीले सीमा क्षेत्रमा हुने तस्करीसँगै प्राकृतिक स्रोतको अनधिकृत दोहन नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी निगरानी थप प्रभावकारी बनाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *