काठमाडौं । पछिल्ला तीन महिनामा देशभर भएका विभिन्न विपद्का घटनाले १६३ जनाको ज्यान लिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि श्रावण २ गते (शुक्रबार) सम्म ३ हजार ३४७ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा ९७२ जना घाइते भएका छन् भने ४ हजार ४७३ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको देखिएको छ। सर्पको टोकाइका कारण मात्रै ३९ जनाले ज्यान गुमाएका छन्। त्यसपछि चट्याङका कारण २५, लेक लागेर २१, आगलागी र जंगली जनावरको आक्रमणबाट समान १७/१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० तथा अविरल वर्षाका कारण चार जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यता, पछिल्लो २४ घण्टामा मात्र देशका विभिन्न स्थानमा ४५ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यस अवधिमा करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
मनसुन सक्रिय भइरहेका बेला सर्पदंश, बाढी, पहिरो, चट्याङ र अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्