काठमाण्डौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरिएको हो ।
सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराखेका छन् ।
नवगठित यो मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ । त्यस्तै, वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।
सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ । जसअनुसार मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, सर्वेक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ ।
त्यसैगरी, पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्याङ्क प्रणाली स्थापना, व्यवस्थापन र नियमनको जिम्मेवारी पनि नयाँ मन्त्रालयलाई दिइएको छ । जैविक तथा पारमाणविक प्रविधिको उपयोग, प्रवद्र्धन, नियन्त्रण र नियमनको काम समेत यही मन्त्रालयले हेर्नेछ ।
ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा सूचना प्रवाह, वैज्ञानिक उपकरणको क्यालिब्रेशन र प्रमाणीकरण, रासायनिक पदार्थको उपयोग तथा नियमनसम्बन्धी काम पनि मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको छ ।
सरकारले आणविक ऊर्जा र पारमाणविक पदार्थको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्