काठमाण्डौँ । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ । तर, प्रधानमन्त्री शाह जवाफका लागि संसद्मा उपस्थित हुने सुनिश्चितता नरहेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
प्रधानमन्त्रीले अर्को मन्त्रीलाई समेत जवाफ दिन पठाउन सक्दछन् । यही अधिकार प्रयोग गरेर उनी बुधबार प्रतिनिधिसभाको बैठकमा गएका थिएनन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भनेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
तेस्रो कार्यसूचीमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।
सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने चौथो कार्यसूची छ ।
पाँचौं कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने रहेको छ ।
छैठौं कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्