काठमाण्डौँ । एमभी होन्डियसमा भएको घातक हान्टा भाइरस प्रकोपपछि स्वदेश फर्काइएका यात्रुमध्ये एक अमेरिकी नागरिकमा यसको संक्रमण पुष्टि भएको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरूले जहाजबाट फर्काइएका एक अमेरिकी नागरिकमा हान्टाभाइरस पोजिटिभ देखिएको बताएका छन् । साथै, अर्का अमेरिकी यात्रुमा हल्का लक्षण देखिएको र दुवैलाई सावधानीस्वरूप बायोकन्टेनमेन्ट युनिट मा राखेर फर्काइएको जनाइएको छ ।
जहाजबाट आएकी एक फ्रान्सली महिलामा पनि संक्रमण पूष्टि भएको थियो । फ्रान्सका स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले पेरिसमा उपचाररत ती महिला आइसोलेसनमा रहेको र उनको अवस्था बिग्रँदै गएको बताएका छन् । महिलाको सम्पर्कमा आएका २२ जना व्यक्तिहरू पहिचान गरिएको छ । यो जहाजबाट हालसम्म ९० भन्दा बढी यात्रु विभिन्न देशमा फर्काइएका छन् । हालसम्म तीन यात्रुको मृत्यु भइसकेको छ, जसमा एक डच दम्पती र एक जर्मन महिला समावेश छन् । तीमध्ये दुई जनामा हान्टाभाइरस पुष्टि भइसकेको छ ।
अमेरिकी स्वास्थ्य मन्त्रालयका अनुसार सबै १७ अमेरिकी नागरिकलाई नेब्रास्कास्थित स्वास्थ्य केन्द्रमा विस्तृत परीक्षण गरिनेछ । यसअघि स्वदेश फर्किएका सात जना अमेरिकी नागरिक पनि निगरानीमा छन् ।
हान्टाभाइरस सामान्यतया मुसाबाट सर्ने भाइरस हो । यसको एन्डिज स्ट्रेन मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना पनि देखिएको छ । यस रोगका लक्षणमा ज्वरो, अत्यधिक थकान, मांसपेशी दुखाइ, पेट दुखाइ, बान्ता, पखाला र सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ । व्यापक प्रकोपको जोखिम अहिले धेरै कम रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्