काठमाण्डौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले नेपालमा फाइभजी प्रविधि भित्र्याउने पहललाई तीव्रता दिएको छ। कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष तेस्रो पटक निवेदन दर्ता गर्दै फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउन आग्रह गरेको हो।
एनसेलले इनह्यान्स्ड मोबाइल ब्रोडब्यान्डमार्फत १० जीबीपीएससम्मको उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने योजना अघि सारेको छ। यसअघि पनि कम्पनीले पाँच वर्षअघि नै परीक्षणका लागि अनुमति मागेको थियो, तर प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
प्राधिकरणका अनुसार हाल एनसेलको पछिल्लो निवेदनमाथि आवश्यक अध्ययन र निर्णय प्रक्रिया जारी छ। विगतमा सञ्चारमन्त्रीको संयोजकत्वमा रहेको समितिमा प्रस्ताव पेश भए पनि सरकारले नेपाल टेलिकमलाई प्राथमिकता दिँदै एनसेललाई अनुमति दिएको थिएन ।
हाल दक्षिण एसियामा फाइभजी सेवा सञ्चालनमा नआएको एकमात्र देश नेपाल रहेको छ । एनसेलले भने फाइभजी भित्र्याएर ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग गर्ने, उपभोक्तालाई अत्याधुनिक सेवा उपलब्ध गराउने तथा नेटवर्कमा देखिएको ट्राफिक चाप घटाउने लक्ष्य लिएको जनाएको छ।
कम्पनीले फाइभजी कार्यान्वयनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर पूर्वाधार स्तरोन्नति गर्ने तयारीसमेत गरिरहेको बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्