प्रतिनिधि सभामा रास्वपा–एमालेबीच नोकझोक, विवादास्पद अभिव्यक्तिमाथि आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच तीव्र नोकझोक भएको छ । रास्वपा सांसद पुरुषोत्तम यादवले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता रामबहादुर थापा ‘बादल’माथि लक्षित गर्दै गरेको व्यङ्ग्यात्मक टिप्पणीपछि विवाद चर्किएको हो ।

सांसद यादवले संसद्‌मा बोल्दै ओली र बादललाई “भूतले छलेको” भन्दै झाँक्रीमार्फत भूत झार्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले अस्पतालको शय्याबाट “कुविचार संसद्‌मा पठाइएको” समेत आरोप लगाएपछि एमाले सांसदहरू आक्रोशित बनेका थिए ।

यादवको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसद गुरु बरालले सभामुखसँग नियमापत्ति उठाए । उनले यस्तो टिप्पणी संसदीय मर्यादा विपरीत भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे । “कसैलाई अपराधी करार गर्ने अधिकार संसद्लाई होइन, न्यायालयलाई हुन्छ,” उनले भने ।

बरालले झाँक्री र धामीजस्ता रुढीवादी सन्दर्भ जोडिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले एमाले संसदीय दलका नेता बादलमाथि प्रयोग गरिएका शब्दहरू पनि अस्वीकार्य भएको बताए ।

यसअघि एमाले सांसद साजिदा सिद्धिकीले पनि यादवको अभिव्यक्ति असंसदीय रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

विवाद बढेपछि सभामुख डोलप्रसाद अर्यालले सदनको ध्यानाकर्षण भएको जनाउँदै विषयलाई गम्भीर रूपमा लिने संकेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *