जलवायु संकटको राप: एक्लै होइन सामूहिक पाइलाको खाँचो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौँ – कृषि, पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन केवल वातावरणीय समस्या नभई आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन्। उनले यस संकट समाधानका लागि सबै क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।

मन्त्री चौधरीले काठमाडौंमा आयोजित कार्यक्रममा भनिन् कि हिमनदी पग्लिने, असामान्य वर्षा, बाढी–पहिरो र खडेरीले जनजीवन र विकासमा गम्भीर असर पारिरहेको छ। उनका अनुसार नेपालजस्तो न्यून कार्बन उत्सर्जन गर्ने देश पनि जलवायु परिवर्तनका प्रभाव बढी भोग्न बाध्य छ।

उनले राष्ट्रिय निर्धारित योगदान (एनडिसी) अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार तयार पारिएको र पेश गरिएको भए तापनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताइन्। “अब हाम्रो प्रमुख ध्यान यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ,” उनले भनिन्।

मन्त्री चौधरीले जलवायु संकटको दीगो समाधानका लागि संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज तथा सञ्चारमाध्यमबीच सहकार्य अत्यावश्यक भएको औँल्याइन्। साथै, नेपालले वन संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले उल्लेख गरिन्।

उनको भनाइ अनुसार जलवायु परिवर्तनको सामना गर्नु हामी सबैको साझा जिम्मेवारी हो र यसको असर कम गर्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *