काठमाडौं । बालेन शाह नेतृत्वमा बन्ने नयाँ सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री चयनको अन्तिम गृहकार्यलाई तीव्र बनाएको छ।
पार्टी स्रोतका अनुसार केही मन्त्रालयको टुंगो लागिसकेको छ भने बाँकी नामहरूबारे पार्टी सभापति रवि लामिछाने ले अन्तिम चरणको छलफल गरिरहेका छन् ।
बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने योजना समेत बनाइएको छ। रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल गरिरहेको छ । पार्टीको चुनावी प्रतिबद्धता अनुसार मन्त्रालय संख्या १८ भित्रै सीमित राख्ने तयारी गरिएको छ ।
मन्त्रिपरिषद सानो बनाउन केही मन्त्रालय गाभ्ने सम्भावनासमेत रहेको नेताहरूले बताएका छन्। साथै, पार्टी सञ्चालनका लागि आवश्यक केही नेताहरूलाई ‘रिजर्भ’ मा राख्ने रणनीति अपनाइएको छ ।
सरकार गठनसँगै प्रमुख मन्त्रालयहरूमा सम्भावित जिम्मेवारीबारे पनि चर्चा सुरु भएको छ। स्रोतका अनुसार बालेन शाह स्वयंले रक्षा मन्त्रालय सम्हाल्ने सम्भावना छ । उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले मन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ । उनीहरूले गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये कुनै एक सम्हाल्ने सम्भावना छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्सालको नाम चर्चामा रहेको छ भने परराष्ट्र मन्त्रालयका लागि शिशिर खनाल लाई सम्भावित रूपमा हेरिएको छ।
त्यसैगरी सोविता गौतम लाई स्वास्थ्य वा कानुन मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ । उनलाई सभामुखको रूपमा पनि हेरिएको छ । सभामुख पदका लागि जगदिश खरेल र प्रतिभा रावलको नाम पनि चर्चामा रहेको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा सुदन गुरुङको नाम अगाडि आएको छ भने मनिष झालाई पर्यटन, सञ्चार वा युवा मन्त्रालयमध्ये कुनै एक जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै प्रतिनिधि सभामा कुल १८२ सिट हासिल गरेको थियो। यससँगै पार्टी झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्