काठमाडौँ–१ मा २६ उम्मेदवारको जमानत जफत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेनन् । उक्त क्षेत्रमा प्रतिस्पर्धा गरेका २९ उम्मेदवारमध्ये विजयी उम्मेदवारसहित केवल तीन जनाले मात्र जमानत सुरक्षित गर्न सफल भएका छन् भने बाँकी २६ जनाको जमानत जफत भएको छ ।

निर्वाचन ऐनअनुसार खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । यस क्षेत्रमा कुल २९ हजार ८२ सदर मत खसेकाले जमानत जोगाउन कम्तीमा २ हजार ९०८ मत आवश्यक थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै जमानत जोगाए ।

यसैबीच नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत मात्र पाएपछि उनको पनि जमानत जफत भएको छ । अन्य दलीय तथा स्वतन्त्र उम्मेदवारले पनि आवश्यक मत नपुग्दा जमानत गुमाएका छन् ।

स्मरणीय छ, यही क्षेत्रबाट विगतमा मदन भण्डारी र विद्या भण्डारी विजयी भएका थिए । अहिले भने एमाले उम्मेदवारकै जमानत जफत भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *