अमेरिकाले कुवेत र साउदी अरबको दूतावास बन्द गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । मध्यपूर्वमा बढ्दो तनावबिच कुवेत र साउदी अरबस्थित अमेरिकी दूतावासहरूले आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेका छन् । कुवेतस्थित अमेरिकी दूतावासले क्षेत्रीय तनाव जारी रहेकाले अर्को सूचना नआएसम्म दूतावास बन्द रहने जनाएको छ ।

दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत नियमित तथा आकस्मिक सबै कन्सुलर अपोइन्टमेन्ट रद्द गरिएको जानकारी दिएका हुन् । यसअघि अमेरिका र इरानबिचको द्वन्द्वका क्रममा कुवेतस्थित नागरिक बन्दरगाहमा रहेको अस्थायी अपरेसन केन्द्रमा इरानी प्रत्यक्ष आक्रमण हुँदा अमेरिकी सैनिकहरू मारिएका थिए ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मृतकको सङ्ख्या बढेर ६ पुगेको छ । यसैबिच, रियादस्थित दूतावासले पनि आफ्नो सेवा प्रभावित भएको जनाएको छ । दूतावासले मङ्गलवार बिहान आफ्नै परिसरमा भएको आक्रमणपछि सबै कन्सुलर सेवा रद्द गरिएको बताएको हो ।

साउदी रक्षा मन्त्रालयका अनुसार शङ्कास्पद इरानी ड्रोनले दूतावास क्षेत्रमा प्रहार गर्दा सीमित आगलागी र सामान्य भौतिक क्षति भएको थियो, तर प्रारम्भिक रूपमा कुनै मानवीय क्षतिको रिपोर्ट छैन । दूतावासले जेद्दा, रियाद र धरान क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई ‘जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहन’ सल्लाह दिएको छ ।

साथै व्यक्तिगत सुरक्षा योजना तयार राख्न र अर्को सूचना नआएसम्म दूतावास परिसरबाट टाढा रहन पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *