काठमाण्डौँ । सप्तरी–२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन जनमत पार्टीका अध्यक्ष सिके राउतका लागि सहज देखिएको छैन । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका राउतलाई यसपटक आफ्नै पूर्वसहकर्मीहरूले कडा चुनौती दिएका छन् ।
२०७९ सालको निर्वाचनमा राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै ३५ हजार ४२ मतसहित विजयी भएका थिए। त्यसबेला जनमत पार्टी मधेशको वैकल्पिक शक्तिका रूपमा उदाएको थियो । तर तीन वर्षको अवधिमा पार्टीभित्रै विभाजन, नेताहरूको बहिर्गमन र आन्तरिक विवादले यसको प्रभाव केही खुम्चिएको आकलन गरिँदैछ।
यसपटक राउतसँग प्रतिस्पर्धामा स्वाभिमान पार्टीका अध्यक्ष सतिशकुमार सिंह र जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादव उत्रिएका छन्। दुवै कुनै समय राउतकै निकट सहयोगी थिए। सिंह मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए भने यादव पार्टी प्रवक्ता थिए। असन्तुष्टि जनाउँदै दुवैले पार्टी परित्याग गरेका हुन्।
पूर्वमुख्यमन्त्री सिंहले जनमत पार्टीमा सहकार्य र स्पष्ट कार्ययोजनाको अभाव रहेको आरोप लगाएका छन् । यस्तै, डा. यादवले पनि राउतले जनतासँग गरेका प्रतिबद्धता पूरा नगरेको दाबी गरेका छन् । राउत भने पार्टी छोड्नेहरूलाई अवसरवादी भन्दै आफ्नो प्रतिस्पर्धा अरूसँग नभई आफ्नै लक्ष्यसँग रहेको प्रतिक्रिया दिएका छन् ।
सप्तरी–२ मा यसपटक कांग्रेस, एमाले, रास्वपा र जसपा नेपालका उम्मेदवारहरू पनि मैदानमा छन्। करिब १ लाख ६ हजार मतदाता रहेको क्षेत्रमा अघिल्लो निर्वाचनमा ६७ प्रतिशत मतदान भएको थियो ।
राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वसहकर्मीहरूको उम्मेदवारीले मत विभाजन हुने सम्भावना छ, जसले चुनावी समीकरणलाई रोचक बनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्