सुशासन र परिणाममुखी काम अबको आवश्यकता रहेको कुलमान घिसिङको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

आज यहाँ पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावी आमसभामा उनले अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने र त्यही आवश्यकताबोध गरी पार्टी चुनावमा होमिएको बताए ।

जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । जलस्रोत व्यवस्थापनभित्र सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका महत्त्वपूर्ण क्षेत्र जोडिने भएकाले यसको एकीकृत योजना बनाएर अघि बढ्न आफूले ध्यान दिने बताए ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको बताए । अध्यक्ष घिसिङले सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिने उल्लेख गर्दै नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् ।

अध्यक्ष घिसिङले सामाजिक न्याय स्थापना, विभेद तथा विसङ्गति अन्त्य, क्षमतामूलक समाज निर्माण तथा युवालाई स्वदेशमै रोजगारी सृजना गर्न सकेमात्र देशको अर्थतन्त्र आत्मनिर्भर बन्ने र त्यसका लागि आफ्नो पार्टीले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *