उपेन्द्र यादवको प्रश्न : मधेशीको अधिकारको लडाइँमा बालेन कहाँ थिए ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । उपेन्द्र यादव ले मधेशी जनताको अधिकारको लडाइँका क्रममा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न उठाएका छन् । उनले मधेशको मुद्दामा बालेनको कुनै स्पष्ट धारणा नरहेको टिप्पणी गरे ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, “राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिँदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन ।”

मधेशको मुद्दा, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग तथा राष्ट्रिय समस्यालाई उठाउने पार्टी जसपा नेपाल नै भएको उनले दाबी गरे। “मधेशका जनताले तिनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सामाजिक सञ्जालमा बढी घण्टी बज्या जस्तो देखिए पनि ग्राउन्ड रियालिटी त्यस्तो छैन,” यादवले भने ।

यादवका अनुसार मधेश, आदिवासी जनजाति, दलित, अल्पसंख्यक मुस्लिम, थारू तथा पिछडा वर्गका समस्या आज राष्ट्रिय समस्याका रूपमा रहेका छन्। यी समस्याको समाधान भए मात्र राष्ट्रिय एकता र विकासले गति लिने उनको धारणा छ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले विगत ३५ वर्षदेखि कांग्रेस–कम्युनिस्ट नेतृत्वका सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रमा सुधार गर्न नसकेको आरोप लगाए । साथै, संविधान समयक्रमसँगै त्रुटिपूर्ण प्रमाणित भएको दाबी गर्दै संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिए ।

त्यसैगरी पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनका क्रममा राज्यले निर्दोष नागरिकको हत्या गर्दा पनि आफूहरू संयमित रूपमा अघि बढेको बताए ।

यादव रुपन्देहीको कोटहीमाई गाउँपालिका–७, परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न आएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *