×

बारा- २ मा उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन्।

गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारीमा यादव छन्।

गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।

पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

‘हाम्रो पार्टीबाट रामसहायजी उपराष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ। औपचारिक निर्णय गर्न मात्रै बाँकी हो,’ जसपाका एक कार्यकारिणी सदस्यले सेतोपाटीसँग भने, ‘रामसहायजी चुनाव जितेको क्षेत्रमा अध्यक्षले उपनिर्वाचन लड्नुहुन्छ।’

रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएका उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

८ दलबीच भएको सहमतिअनुसार रामसहाय उपराष्ट्रपति हुने त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा अध्यक्ष यादवले जित्ने सम्भावना रहेको पनि ती कार्यकारिणी समिति सदस्यले बताए।

यो क्षेत्रमा यादव समुदायको  बाहुल्यता भएकोले अध्यक्ष यादवले आफूलाई सुरक्षित ठानेको ती कार्यकारिणी सदस्यको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने चर्चा थियो। नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले अध्यक्ष यादवलाई सप्तरीमा उम्मेदवार बनाएको थियो।

जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। जसपाको तर्फबाट उपराष्ट्रपति बन्ने तयारीमा रहेका रामसहायप्रसाद यादवले तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुसहवालाई झिनो मतले पराजित गरेका थिए।

नेकपा एमाले र जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवले १३ हजार ८ सय २२ मत ल्याएका थिए भने माओवादीका कुसहवाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए। यादवले सोही क्षेत्रबाट २०७४ मा समेत जितेका थिए भने २०६४ मा पनि उनी विजयी भएका थिए। २०७०मा मात्रै उनी पराजित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: