ग्रिनल्याण्डमा अमेरिकी ‘हस्पिटल शिप’ पठाउने ट्रम्पको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् ।

यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्।

यो मिशन लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको हो ।

सन् २०२५ को अन्त्यदेखि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन्। यसअघि उनले ग्रिनल्याण्ड नदिएमा डेनमार्कमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी समेत दिएका थिए ।

डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले ट्रम्पको यस प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै “ग्रिनल्याण्ड बिक्रीका लागि होइन” भन्दै आएका छन् ।

अमेरिकी अस्पताल जहाज कुन आधारमा पठाइएको हो र यसका लागि अनुमति लिइएको छ वा छैन भन्नेबारे डेनमार्कले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

यो घटनालाई विज्ञहरूले ग्रिनल्याण्डमा अमेरिकी प्रभाव बढाउने ‘सफ्ट पावर’ रणनीतिको रूपमा हेरेका छन् । सन् २०२६ को सुरुवातमै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिएपछि नेटो सहयोगी राष्ट्रहरूबीच खैलाबैला मच्चिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *