काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंका ४२ वर्षीय पारस बम रहेका छन् ।
पेशाले इन्जिनियर रहेका बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मंगलबार दिउँसो भोटाहिटीबाट नियन्त्रणमा लिएको हो । गत शनिबार बा ३ च ११०३ नम्बरको कार चलाइरहेका बमले कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक वृद्ध पैदलयात्रीमाथि कुटपिट गरेका थिए ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरेको थियो । भिडियोमा चालक बमले ती पैदलयात्रीलाई कुटपिट गरेको र उनीसँगै रहेकी एक महिलाले समेत गालीगलौज गरेको देखिन्छ।
प्रहरीको प्रारम्भिक सोधपुछमा चालक बमले ती पैदल यात्रीले मादक पदार्थ सेवन गरी आफू र साथमा रहेका महिला सदस्यलाई अपशब्द बोलेकाले आवेशमा आएर हातपात गरेको दाबी गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार पक्राउ परेका बमलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले घटनाबारे थप छानबिन भइरहेको जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्