काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको प्रतिस्पर्धामा स्पेनिस दिग्गज क्लब बार्सिलोनाले चेक क्लब स्लाभिया प्राहामाथि रोमाञ्चक जित निकालेको छ ।
खेलमा बार्सिलोनाले स्लाभिया प्राहालाई ४–२ गोलअन्तरले हरायो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले दुई गोल गर्दै निर्णायक भूमिका खेले भने डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक–एक गोल थपे । स्लाभियाका तर्फबाट भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीको आत्मघाती गोलबाट अर्को गोल पाएको थियो ।
खेलको सुरुवात भने स्लाभियाका लागि सुखद रह्यो । १०औं मिनेटमै कुसेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ३४औं मिनेटमा फर्मिन लोपेजले बराबरी गोल फर्काए र ४२औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई अघि बढाए ।
तर पहिलो हाफ सकिनुअघि नै लेवान्डोस्कीबाट आत्मघाती गोल भएपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड जमायो । ६३औं मिनेटमा डानी ओल्मोले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसपछि ७०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत गोल गर्दै ४–२ को जित सुनिश्चित गरे ।
यस जितसँगै बार्सिलोनाले ७ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित स्लाभिया प्राहा भने ३ अंकसहित ३४औं स्थानमा सीमित छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्